2 Apr, 2025, Wed ddcsolu@gmail.com (+९७७)-०३८-५२०४७२
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ फाल्गुण २२ गते बिहीबार

1. सोलुखुम्बु जिल्लाको संक्षिप्त परिचय

सोलुखुम्बु जिल्ला साविक सगरमाथा अञ्चल र हाल कोशी प्रदेशको हिमाली भागमा पर्दछ । यस जिल्लाले सोलु (तल्लो भूभाग) र खुम्बु (माथिल्लो भूभाग) क्षेत्रलाई समेट्छ । जिल्लाको सदरमुकाम सोलुदुधकुण्ड नगरपालिका वडा नं.-5 मा अवस्थित छ । यस जिल्लाको तल्लो भुभागमा आदिवासी जनजाति राई (किराती) हरुको वस्ती र क्षेत्रीहरु मुख्य रुपमा बस्छन् भने उच्च पहाडी (हिमाली) क्षेत्रमा पूर्वको मान्छे भनी ‍चिनिने उच्च हिमाल आरोहण गर्न पारखी शेर्पा जातीका मानिसहरुको बसोवास गर्दछन् । जिल्लामा सडक बाटो ओखलढुंगा हुँदै सल्लेरी सदरमुकामसम्म विगत ६ वर्ष अगाडिदेखि जोडिएको छ ।

       यस जिल्लाभित्र साविक तिङला, सल्यान, नेचावतासे, नेचावेतघारी, नेले, काँगेल, केरुङ्ग, टाप्टिङ्ग, टाक्सिन्दु, पञ्चन, देउसा, मुक्ली, वासा, काँकु गा.वि.स.हरुमा कच्ची मोटरबाटो पुगेको छ ।

१.१. जिल्लाको भौगोलिक अवस्था (संक्षिप्त रुपमा)

क) भौगोलिक अवस्था

       विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा (८८४८.84 मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भूभाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय हिमश्रृंखला, डाँडा, पाखापखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्धसंस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि. २०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र १९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र १४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७˚२०३९उत्तरी अक्षांशदेखि २६˚२४उत्तर सम्म र ८५˚२१पूर्वी देशान्तरदेखि ८७˚पूर्वसम्म फैलिएर रहेको छ । यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै ठूलो अन्तर रहेको छ ।

साथै उत्तरमा चीन स्वशासित तिव्वति क्षेत्र पूर्वमा खोटाङ जिल्ला र संखुवासभा जिल्ला दक्षिणमा ओखलढुँगा जिल्ला र पश्चिममा रामेछाप जिल्लाले यस जिल्लाको चार किल्ला छुट्ट्याएको छ ।  

 

 

ख) जिल्लाको सीमाना

       यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु पर्दछन् ।

ग) राजनैतिक एवं प्रशासनिक विभाजन

       यस जिल्ला १ नगरपालिका, ७ गाउँपालिका र १ संसदीय निर्वाचन क्षेत्रमा विभक्त रहेको छ ।

घ) नदीनाला र तालतलैयाहरु

       यस जिल्लामा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूलासाना नदीहरु निरन्तर बग्ने गर्दछन् । प्रमुख कुण्ड तथा पोखरीहरु गोक्यो, इम्जा, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् साथै यस जिल्ला अन्तरगत विश्वको सर्वोच्च शिखरको काखमा सगरमाथा राष्ट्रिय निकुञ्ज 2032 सालमा स्थापना भएको र उच्च हिमाली जीवजन्तु हिउँचितुवा, चिलिमे, हिमाली भालु चराचुरुङ्गीहरु डाँफे, मुनाल र उच्च हिमाली वनस्पतीको संरक्षण र सम्बर्धन गरि आएको पाईन्छ। यसै जिल्लाको पूर्वी भेगमा मकालु-वरुण राष्ट्रिय निकुञ्ज 2049 सालमा स्थापना भएको हो । विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिविर 5364 मिटर खुम्वुपासाङल्हामु गाउँपालिका अन्तरगत रहेको छ भने यस जिल्ला भित्रका विभिन्न नदिनालाहरुबाट करिव 14 वटा जलविधुत गृह सञ्चालित छन् ।

जिल्ला समन्वय समितिको परिचय


साविक जिल्ला विकास समितिको नामले परिचित यस कार्यालय 2072 सालमा नेपालको संविधान जारी भए पश्चात जिल्ला समन्वय समितिको नामले चिनिन थालिएको हो । नेपालको संविधानको भाग-5 को धारा-56 को उष-धारा (1)(4) अनुसार परिभाषित भई नेपालको संविधानको धारा-220 (1,2,3,4,5,6,) अनुसार जिल्ला समन्वय समितिको गठन भई ऐ.ऐ. धाराको उपधारा-7 वमोजिमको कार्यहरु गर्ने संवैधानिक व्यावस्था छ भने स्थानीय सरकार संचालन ऐन, 2074 को दफा 92 ले दिएको अधिकार प्रयोग गरी जिल्ला समन्वय समितिले आफ्नो कार्य संचालन गर्ने कानूनी व्यवस्था अनुरुप छ ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ चैत्र १३ गते बुधबार