संक्षिप्त परिचय

सोलुखुम्बु जिल्ला प्रदेश-१ अन्तर्गतका १४ वटा जिल्लाहरुमध्ये सबभन्दा उत्तरी भेगमा पर्दछ।यो जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला हो। यो जिल्ला ७ गाविस , १ नगरपालिका (दुधकुण्ड नगरपालिका), २ प्रदेश निर्वाचन क्षेत्र र १ संघिय संसदीय निर्वाचन क्षेत्रमा विभाजित रहेको छ । यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेका छन । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ ।
यस जिल्लाले सोलु (तल्लो भू–भाग) र खुम्बु (माथिल्लो भू–भाग) क्षेत्रलाई समेट्छ । जिल्लाको सदरमुकाम सल्लेरी, सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित छ । यस जिल्लाको तल्लो भु–भागमा आदिवासी जनजाति राईहरु र क्षेत्रीहरु मुख्य रुपमा बस्छन् भने उच्च पहाडी (हिमाल) क्षेत्रमा शेर्पाहरु बसोवास गर्दछन् । जिल्लामा सडक बाटो ओखलढुंगा हुँदै सल्लेरी सदरमुकामसम्म विगत ६ वर्ष अगाडिदेखि जोडिएको छ ।
१.१. जिल्लाको भौगोलिक अवस्था (संक्षिप्त रुपमा)
क) भौगोलिक अवस्था
विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथा (८८४८ मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भू–भाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय हिमश्रृंखला, डाँडा, पाखा–पखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्ध–संस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि. २०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र १९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र १४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७ड्ढ२०’३९” उत्तरी अक्षांशदेखि २८ड्ढ६’२४” उत्तर सम्म र ८५ड्ढ०’२१” पूर्वी देशान्तरदेखि ८७ड्ढ०’१” पूर्वसम्म फैलिएर रहेको छ । यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै ठूलो अन्तर रहेको छ ।
ख) जिल्लाको सीमाना
यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु पर्दछन् ।
ग) राजनैतिक एवं प्रशासनिक विभाजन
यस जिल्ला १ नगरपालिका, ७ गाउँपालिका र १ संसदीय निर्वाचन क्षेत्रमा विभक्त रहेको छ ।
घ) नदीनाला र तालतलैयाहरु
यस जिल्लामा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूला–साना नदीहरु निरन्तर बग्ने गर्दछन् । प्रमुख कुण्ड तथा पोखरीहरु गोक्यो, इम्जा, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् ।
ङ)प्रमुख हिमशिखर र पर्यतकीय स्थलहरु
संसारकै सर्वोच्च शिखर सगरमाथा र अन्य प्रमुख हिमशिखरहरु ल्होत्से, चोयु, ग्याचुङगाङ , नुप्त्से चामलाङमा, पुमोरी , आमाडव्लम , थाम्सेर्कु, नुम्बुर , ल्होत्सेसार, पासाङ्गल्हामू यसै जिल्लामा पर्दछन । प्रमुख पर्यटकीय स्थलहरू मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडा आदि। 

                     सोलुखुम्बु जिल्ला र स्थानीय तहहरुको नक्सा


Skip to toolbar